काठमाडौं । नेपाली कांग्रेसको संस्थापनबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले सो पद आफैले त्यागेको बताएका छन् ।आज बिहान नै आफूले महामन्त्री पद त्यागेकाले निष्कासनको अर्थ नभएको उनको भनाइ छ ।
आज विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै शर्माले यस्तो बताएका हुन् । उनले जिन्दगीमै पहिलो पटक कारबाही भन्ने शब्दसँग जोडिएको उल्लेख गरे ।
‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ’ उनले भने,‘जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो । म साथीहरूसँग गफ गर्दै थिएँ । बदलिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ ।’
‘एकजना साथीले फोन गरेर दाइ कारबाहीमा पर्नुभएछ भन्नुभयो । महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ । बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ,’ उनले भने ।