काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा पेश भएको प्रतिवेदन पारित गरेको छ।
मंगलबार सम्पन्न महाधिवेशनको बन्दसत्रले थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र शर्माले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन सुझावसहित पारित गरेको हो। त्यस्तै बन्दसत्रले पार्टीको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ।
बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले विशेष महाधिवेशनका सबै एजेण्डा हलबाटै टुंगिने स्पष्ट पारे। उनले महाधिवेशनको निर्णय हलले अनुमोदन नगरेका अन्य कुनै विषय मान्य नहुने बताए।
महामन्त्री थापाले विशेष महाधिवेशनलाई पद र स्वार्थको दृष्टिकोणबाट नहेर्न आग्रह गर्दै यसलाई पार्टीको वैचारिक र सांगठनिक सुधारको अवसरका रूपमा लिनुपर्ने धारणा राखे।
विशेष महाधिवेशनमार्फत कांग्रेसले आगामी राजनीतिक दिशा र संगठनात्मक पुनर्संरचनाका लागि महत्वपूर्ण निर्णयहरू गरेको पार्टीले जनाएको छ।