काठमाडौं – वरिष्ठ नेताका रूपमा रास्वपामा प्रवेश गरेका काठमाडौं मेयर बालेन शाह माघ ४ गते मेयर पदबाट राजीनामा दिने भएका छन्। राजीनामापछि माघ ५ गते उनी जनकपुर पुग्ने कार्यक्रम तय गरिएको छ।
रास्वपा मधेस सभापति तपेश्वर यादवका अनुसार, जनकपुरमा प्रदेश कमिटीको भेला राखिएको छ। आठ जिल्ला र ३२ निर्वाचन क्षेत्रमा पार्टीको स्थिति, आगामी रणनीति र बालेनको योजनाबारे छलफल हुने बताइएको छ।
यसबाहेक, बालेनले महोत्तरीको आफ्नो पुर्ख्यौली घरमा पनि सानो भेटघाट कार्यक्रम राखेका छन्। यादवले बताएअनुसार, बालेनले स्थानीय नेता–कार्यकर्तासँग भेटेर मधेसमा उम्मेदवारी र पार्टी विस्तारबारे समझदारी बनाउने तयारी गरेका छन्।
जनकपुरमा मुख्य सभा पनि तय गरिएको छ, जहाँ बालेनसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। बालेन शाह झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा रहेको समाचारमा उल्लेख छ।