काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई अझ बलियो बनाउन आवश्यक परे नेतृत्व परिवर्तन गर्न समेत आफू तयार रहेको बताएको छ। मंगलबार काठमाडौँमा आयोजित पार्टी एकता कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले पार्टी सुदृढ बनाउने प्रक्रियामा व्यवस्थापकीय विषयहरू छलफलबाट समाधान गर्न सकिने उल्लेख गरेका छन् । नेतृत्व नै बाधक बन्ने अवस्था आएमा परिवर्तनका लागि आफू तयार रहेको उनको भनाइ थियो।
अध्यक्ष लिङ्देनले हालसम्म भएका सबै घटनाक्रम र विभिन्न अग्निपरीक्षाले राष्ट्रवादी आन्दोलनको मूलधार र प्रमुख शक्ति राप्रपा नै हो भन्ने प्रमाणित भएको दाबी गरेका छन्। नेपालको निर्णायकत्व विदेशी शक्तिको हातमा पुगेको र त्यो प्रत्यक्ष अनुभूति हुने गरी प्रयोग भइरहेको भन्दै उनले समान विचार राख्ने सबै शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। नेपालको निर्णायकता नेपाली जनताकै हातमा कायम राख्न, राष्ट्रियता सुदृढ गर्न तथा समुन्नत, समृद्ध र सबल राष्ट्र निर्माणको जिम्मेवारी युवाहरूलाई हस्तान्तरण गर्नु आफ्नो कर्तव्य भएको अध्यक्ष लिङ्देनले बताएका छन्। साथै उनले आगामी निर्वाचनलाई आन्दोलनकै रूपमा लिँदै इमान्दारीपूर्वक मेहनतका साथ होमिन पार्टी पंक्ति र समर्थकहरूलाई अपिल गरेका छन्।
त्यसैगरी राप्रपाका नेता कमल थापाले ‘जेन–जी’को म्याण्डेटअनुसार भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त गराउने क्षमता राप्रपामा मात्रै रहेको दाबी गरेका छन्। उनले देशको वर्तमान संकटको मुख्य कारण संघीय, धर्मनिरपेक्ष गणतन्त्र व्यवस्था भएको बताएका छन्। थापाले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र तथा दुई तहको सरकार रहने शासन प्रणाली स्थापना गर्न निरन्तर सडक र सदनबाट दबाब दिने धारणा राखेका छन्। नेता थापाले आगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पूर्ण बहुमत प्रदान गर्न अपिल गर्दै राष्ट्र निर्माणको अभियानमा एकताबद्ध हुन सबैलाई आह्वान गरेका छन्।