काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पक्षधर समूहले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको फाइल निर्वाचन आयोगमा बुझाइसकेको खुलेको छ। विशेष महाधिवेशनलाई वैधानिकता दिनका लागि उनीहरूले बहुमत प्रतिनिधिको समर्थनसहित आयोगमा औपचारिक प्रक्रिया अघि बढाएका हुन्।
पुस १६ गते विशेष महाधिवेशन पक्षधरहरूले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार सभापति, कार्यवाहक सभापति तथा केन्द्रीय कार्य समितिलाई निर्देशन दिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएका थिए। तर उक्त पत्रमा आयोगले तत्काल कुनै प्रतिक्रिया दिएको थिएन।
त्यसपछि विशेष महाधिवेशन पक्षधरहरूले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर संकलन गरी आयोगमा बुझाएको आयोगका एक अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार विवाद चर्किंदै विशेष महाधिवेशन हुने निश्चितजस्तै देखिएपछि हस्ताक्षरको फाइल आयोगमा बुझाइएको हो।
अहिले जारी विशेष महाधिवेशनबाट पुरानो केन्द्रीय कार्य समिति भंग गरी नयाँ समिति गठन गर्ने तयारी भइरहेको छ। यस्तो अवस्थामा निर्वाचन आयोगले विशेष महाधिवेशनलाई कानुनी मान्यता दिन्छ कि दिँदैन भन्ने विषयलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा र उनी पक्षधर नेताहरूले भने जारी विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएका छन्। तर विशेष महाधिवेशन पक्षधरहरू पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै, आफूहरूसँग बहुमत प्रतिनिधिको हस्ताक्षर रहेकाले आयोगले मान्यता दिनेमा विश्वस्त देखिएका छन्।
यसअघि कांग्रेस महामन्त्री गगन थापाले पनि विशेष महाधिवेशनस्थलमै उक्त विशेष महाधिवेशनले वैधानिकता पाउने दाबी गरेका थिए।