काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेको भविष्य संकटमा परेको दाबी गर्दै व्यङ्ग्य गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित लिम्बुवान क्रान्तिकारी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीचको समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सूर्य चिन्ह बोकेको एमालेको शक्ति कमजोर हुँदै गएको र तारा चिन्ह बोकेको आफ्नो पार्टी उदाउँदै गएको दाबी गरेका हुन् ।
‘एकातिर सूर्य अस्त हुन्छ, अर्को तर्फ तारा चम्किरहेको हुन्छ,’ उनले भने, ‘हिजो नेपालगन्जमा घाम नलागेर प्लेन ल्यान्ड हुन सकेन, तर रुकुममा टन्टलापुर घाम लागेर हामीलाई सूर्य पर्खिरहेको थियो। हाम्रो कार्यक्रमपछि सूर्य अस्त भयो र तारा चम्किन थालेको छ।’
नेता नेपालले पछिल्लो समय आफ्नो पार्टीप्रति विभिन्न धर्म, संस्कृति र समुदायका व्यक्तिहरूको आकर्षण तीव्र रूपमा बढ्दै गएको दाबीसमेत गरे ।