काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे प्रतिनिधिसभा निर्वाचनको राजनीतिक वृत्तमा चर्चामा छन्। फागुन २१ गते हुने निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्न सक्ने अड्कलबाजी तीव्र बनेको छ।
यससँगै पाण्डेले महानगरपालिकाको जिम्मेवारीबाट अलग हुने तयारी गरिरहेको चर्चा पनि बाहिर आएको छ। मेयर बालेन शाह निकट स्रोतहरूका अनुसार पाण्डे र मेयर शाह दुवै जनाले एकै समयमा पद त्याग्ने योजना बनाइरहेका छन्।
बालेन पक्षका नेताहरूले काठमाडौँ–४ लाई लक्ष्य गरी नयाँ राजनीतिक रणनीति तयार भइरहेको बताएका छन्। स्रोतका अनुसार पाण्डेलाई सोही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उतार्ने तयारी मेयर शाहको छ।
मेयर शाहले माघ ४ गते महानगर प्रमुखको जिम्मेवारी छाड्ने तयारी गरिरहेको भनाइ पनि सार्वजनिक भइसकेको छ। यही पृष्ठभूमिमा, पाण्डेले पनि मेयरसँगै पद छाड्ने कुरा स्वीकार गरेका छन्।
पाण्डेले मेयर शाहले महानगर छाडेपछि आफू त्यहाँ रहने अवस्था नरहने बताएका छन्। उनले मेयरभन्दा अघि नै पदबाट बाहिरिन सक्ने संकेतसमेत दिएका छन्।
तर प्रतिनिधिसभा उम्मेदवारीको सवालमा भने पाण्डेले स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्। उनले आफूले कसैसँग उम्मेदवार बन्ने प्रस्ताव नराखेको र राजनीतिक महत्वाकांक्षा व्यक्त नगरेको बताएका छन्।
यसअघि भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’पछि सुशीला कार्की नेतृत्वमा बन्ने भनिएको अन्तरिम सरकारमा पाण्डेलाई गृहमन्त्री बनाउने विषयले पनि चर्चा पाएको थियो। मेयर शाहको चाहनाका बाबजुद सुरक्षा निकायका उच्च तहबाट असहमति जनाइएपछि त्यो योजना कार्यान्वयनमा जान सकेन।
महानगरपालिकामा रहँदा पाण्डे मेयर शाहको निर्देशनअनुसार काम गर्दै आएका थिए। कार्यकारी अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाइएको घटना तथा जनप्रतिनिधि र कर्मचारीहरूलाई प्रहरीले रोकेको विषयले महानगरको प्रशासनिक अवस्था विवादित बनेको थियो।
काठमाडौँ क्षेत्र नम्बर ४ हालसम्म नेपाली कांग्रेसका महामन्त्री गगन थापाको बलियो निर्वाचन क्षेत्र मानिन्छ। थापा लगातार सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् र यसपटक पनि उम्मेदवारी दिने तयारीमा छन्।
राजनीतिक वृत्तमा भने राजु पाण्डेलाई गगन थापाको प्रतिस्पर्धी बनाउने र मेयर शाह स्वयं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने सम्भावनाबारे चर्चा भइरहेको छ।