काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् ।
बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकार बने देखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन् ठुलो संवैधानिक सङ्कट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताए ।
उनले आफूहरूले तोकिएको समयमा निर्वाचन गराउने आकाङ्क्षा राखेको भए पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरे । तोकिएको समयमा निर्वाचन नभए संसद् पुनर्स्थापनाको सम्भावना बलियो हुने उनको भनाइ छ । नेता कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरे ।
फरक प्रसंगमा नेता कोइरालाले नेपाली कांग्रेसको विधान अनुसार शेर बहादुर देउवा पुनः सभापतिको उम्मेदवार हुन नमिल्ने जानकारी दिए । उनले तोकिएको समयमा नै कांग्रेसको महाधिवेशन हुनुपर्ने धारणा राखे ।