काठमाडौँ । एमाले नेता महेश बस्नेतले जेनजीको नाम प्रयोग गरी आफ्ना गतिविधिमा अवरोध गरिए प्रतिरोध गर्ने चेतावनी दिएका छन्। शुक्रबार बबरमहलमा एमालेको युवा दस्ता (युथ भोलन्टियर फोर्स) घोषणा अघि आयोजित प्रदर्शनको नेतृत्व गर्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन्।
बस्नेतका अनुसार, वास्तविक जेनजी पुस्ताका माग पूरा गर्ने क्षमता एमालेलाई छ। उनले जेनजी आन्दोलनका घाइते तथा शहीदहरूलाई न्याय दिन प्रतिनिधिसभा पुनःस्थापना आवश्यक भएको पनि दाबी गरे। जेनजीको नाममा जहाँ अवरोध, त्यहीं प्रतिरोध हुन्छ, बस्नेतले भने, जेनजीहरूसँग हाम्रो निरन्तर सम्पर्क छ, तर उनीहरूको नाम र ब्यानर प्रयोग गर्दै अन्य तत्व सक्रिय छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज फोर्सको केन्द्रीय कमाण्ड घोषणा गर्ने कार्यक्रम छ। बस्नेतले स्थानीय तह–पालिका, वडा र टोलस्तरसम्म सुरक्षा सहयोगका लागि फोर्स गठन गरिने बताए। हामी विभिन्न पेशागत संस्थासँग सहकार्य गर्दै जानेछौं, उनले भने, अब राष्ट्रिय सम्पत्ति जलाउने र तोडफोड गर्ने घटनामा हामी दर्शक बनेर बस्दैनौं।