काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन पुसभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। उनले केही नेताहरूले महाधिवेशन ढिलो वैशाख वा त्यसपछि गर्ने अभिव्यक्ति दिएका विषयमा पनि टिप्पणी गर्दै, ढिलो नगरी पुसभित्रै नियमित महाधिवेशन गरिनुपर्ने बताए।
कोइरालाले भने, “मेरो कुरा अहिलेसम्म उही छ । मंसिरको सट्टा पुसभित्रै महाधिवेशन गरौं। यदि समयमै महाधिवेशन सम्भव भएन भने, विशेष महाधिवेशनमा केन्द्रीय समितिको सर्वसम्मत निर्णयबाट जाने व्यवस्था मिलाउनु पर्छ।” उनले थपे, “असोज २९ मा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्। यदि ती हस्ताक्षर सनाखत गराउने हो भने पार्टी विभाजनको जोखिम हुन सक्छ। त्यसैले विवादरहित तरिकाले विशेष महाधिवेशनको निर्णय केन्द्रीय समितिबाटै लिनुपर्छ।”
पार्टीभित्र विभिन्न धारणा देखिएको छ। शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। तर सभापति शेरबहादुर देउवा नजिकका केही पदाधिकारी र पूर्वपदाधिकारीहरू भने वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्। केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि सुरु भए पनि सर्वसम्मत निर्णय लिन नसक्दा स्थगित छ।
बैठक मंसिर ४ गते दिउँसो २ बजेसम्म स्थगित रहने जनाइएको छ। यसबीच सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरू अनौपचारिक छलफलमार्फत पार्टीभित्रको विवाद समाधान गर्ने प्रयासमा छन्। कोइरालाले अन्त्यमा भनेका छन्, “यदि केन्द्रीय समितिले सर्वसम्मत निर्णय गरी विशेष महाधिवेशनको बाटो अपनायो भने विवाद कम हुनेछ र पार्टी एकताबद्ध रहन्छ।”