काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले उक्त पार्टीसँगको यात्रा र अध्याय सकिएको बताएकी छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले एकीकृत समाजवादी आजै दिउँसो १ बजेबाट विघटन हुने भएसँगै उक्त पार्टीसँगको आफ्नो यात्रा पनि टुंगिएको बताइन् ।
‘उक्त पार्टीसँगको यात्रा र अध्याय सकियो । अहिले यो हाम्रो पजको अवस्था हो’, झाँक्रीको भनाइ छ । जेनजी आन्दोलनपछि नेपालका राजनीतिक दलहरूमाथि समेत प्रश्न उठेको भन्दै उनले लोकतन्त्रको प्रत्याभूति र शान्ति सुरक्षाका लागि राजनीतिक दलहरूलाई नै जिम्मेवार बनाउन जरुरी रहेको झाँक्रीले जिकिर गरिन् ।
उनले एमाले र माओवादी मिलेर नेकपा बनेसँगै पार्टीभित्रको लोकतन्त्र समाप्त भएको तथा आज माओवादी र एकीकृत समाजवादी लगायतको एकताले पनि लोकतन्त्र नासिने ठोकुवा गरिन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ दलबिच आजै पार्टी एकता हुँदैछ । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने नेताहरूले बताएका छन् । झाँक्री लगायतका एकतामा नगएका नेताहरू एमाले प्रवेशको तयारीमा छन् ।