काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक किचलो बढिरहेका बेला पार्टी नेता एवं जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले पार्टी नेतृत्वलाई गुटबन्दी छोडेर एकजुट हुन चेतावनीसहितको अपिल गरेका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणालाई लक्षित गर्दै शाहीले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै आफ्नो असन्तुष्टि र आक्रोश व्यक्त गरेका हुन्। उनले नेताहरूलाई व्यक्तिगत स्वार्थ र अहम् त्याग्न तथा राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
‘राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन होस् वा पार्टी महामन्त्री धवल शमशेर राणा होस्, यसरी गुट-उपगुटका भेला तत्काल बन्द गर। यस्तो अवस्थामा राष्ट्रवादीहरू एक ढिक्का हुने हो, फुटेर होइन, जुटेर अगाडि बढ्ने हो। यदि तिमीहरू मिलेर जान सक्दैनौ भने युवाहरूको भविष्य बर्बाद गर्ने तिमीहरूको अधिकार छैन,’ शाहीले भनेका छन्। शाहीले नेताहरूलाई राष्ट्रवादी शक्तिलाई कमजोर नबनाउन र जनताको आशामाथि तुषारापात नगर्न सचेत गराएका छन्।