काठमाडौं । सात वामपन्थी दलहरूबीच एकीकृत पार्टी गठन गर्ने सहमति भएको छ ।
आइतबार सार्वजनिक गरिएको ‘पार्टी एकता सहमति पत्र’मा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी) ले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत्तर कम्युनिस्ट आन्दोलनको एकीकरण अहिलेको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरिएको छ ।
सहभागी दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने बताएका छन् ।
सहमति अनुसार पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद–लेनिनवाद हुनेछ । तत्कालीन कार्यनीति पूँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा र समाजवादको आधार तयार गर्न केन्द्रित हुनेछ ।