काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाविधेशन पुस १६ गतेसम्म गर्न सकिने निष्कर्ष नेता शेखर कोइराला पक्षले निकालेको छ । शुक्रबार बिहान नेता कोइरालाले विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा आफू निकटका नेताहरूसँग छलफल गर्दै आगामी पुस १६ गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्न सकिने निष्कर्ष निकालेको हो ।
बैठकमा सहभागी सहमहामन्त्री बद्री पाण्डेका अनुसार मंसिरमा सम्भव नभए पुसमा नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको हो । नेता कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका थिए।
छलफलमा नियमित महाधिवशेन पुस १६ गते उद्घाटन गर्ने गरि तालिका ल्याउने सकिने र क्रियाशील सदस्यता अबको एक महिनाभित्र टुंग्याउन सकिने निष्कर्ष निकालिएको पाण्डेले जानकारी दिए। पुस १६ गते पार्टीका संस्थापक बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस पनि हो।
त्यस्तै क्रियाशील सदस्यता टुंग्याएको १५ दिनभित्र तल्लो समितिका अधिवेशन पनि गर्न सकिने निष्कर्ष कोइराला समूहको छ। बैठकले मंसिरमा सम्भव नभए पुस १६ गतेदेखि नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन र बैठकमा पेश गर्न महामन्त्री थापालाई जिम्मा दिएको छ। अब कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरी कार्यतालिका प्रस्तुत गर्ने वातावरण बनाइने सहमहामन्त्री पाण्डेले बताए। छलफलपछि आफ्नो समूहको निष्कर्ष लिएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न पुगेका छन्।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा कार्यतालिका प्रस्तुत गर्ने तयारी शेखर पक्षको छ ।यसअघि बिहीबार बसेको बैठकमा महामन्त्री थापाले मंसिरमै महाधिवेशन गर्नेगरी कार्यतालिका प्रस्तुत गर्न चाहेका थिए। तर कार्यवाहक सभापति खड्काले सहमति नदिएपछि उनी बैठक वहिष्कार गरेका थिए । यसअघि संस्थापन पक्षको बुधबार भएको बैठकले तत्काल महाधिवेशन नगई चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको थियो। संस्थापन पक्ष चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छ।