काठमाडौं । निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि तय भएको मनाङ-२ को प्रदेश सभा उपनिर्वाचन स्थगित गरेको छ । आइतबार बसेको आयोगको बैठकले उपनिर्वाचन स्थगित गर्ने निर्णय गरेको सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। मनाङ-२ को प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि रिक्त स्थानमा निर्वाचन गराउन निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताको सूचना जारी गरिसकेको थियो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत गण्डकी प्रदेशको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा भाग लिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको र राजनीतिक दलसम्बन्धी ऐनअनुसार भदौ १९ देखि २५ गतेसम्म निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि आयोगमा निवेदन दिन सूचना जारी गरेको हो । तर भदौ २३ गते भएको आन्दोलनका कारण निर्वाचन कार्यक्रम प्रभावित भएकाले कार्तिकमा निर्वाचन गराउन नसकिने आयोगको भनाई छ। पूर्वकार्यतालिका अनुसार असोज २२ गते बिहान १० बजेबाट उम्मेदवारी दर्ताको कार्यक्रम थियो।
प्रदेश सभा सदस्यको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदा उपनिर्वाचन गर्ने संवैधानिक व्यवस्था छ। मनाङ क्षेत्र नम्बर १ (२) २०८१ कात्तिक २० गतेदेखि रिक्त छ। प्रदेशसभा सदस्य मनाङेलाई पदमुक्त गर्न सर्वोच्च अदालतले फैसला गरेपछि उक्त क्षेत्र खाली छ।