काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुँदैन, रहन सक्दै नसक्ने उल्लेख गरेका छन् ।
‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’, महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ ।’
यस्तै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् । कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन् । कांग्रेस संस्थापनइतरबाट वर्तमान सरकारमा पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खेलकुद् मन्त्री तेजुलाल चौधरी छन् ।