काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजा सार्वजनिक गरेको छ । लिसामा छनोट भएका पालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज एक कार्यक्रमका बीच सम्मान गरेका हुन् ।
गएको आर्थिक वर्षको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) र वित्तीय जोखिम मूल्याङ्कन (एफआरए) को कार्य सम्पन्न गरी नतिजा सार्वजनिक गरी सर्वोत्कृष्ट ३ गाउँपालिका र ३ नगरपालिकालाई कदरपत्र प्रदान गरिएको छ ।
चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिका तथा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, धादिङको बेनीघाट गाउँपालिका र गुल्मीको रुरुक्षेत्र गाउँपालिका उत्कृष्ट छनोट भएका छन् ।
आजै स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली एलजिपिएसको समेत शुभारम्भ गरिएको छ । एलजिपिएसमार्फत एकीकृत मूल्याङ्कन गर्नेगरी नयाँ कार्यविधि र प्रणाली तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।