काठमाडौं । गृहमन्त्री रमेश लेखकले आधारभूत दर्जाका प्रहरीलाई १६ वर्षमै सेवा निवृत्त हुने व्यवस्था मिलाउने गरी नयाँ कानुन निर्माणको प्रक्रिया अघि बढेको बताएका छन् ।
नेपाल प्रहरी श्रीमती संघको ४१ औँ वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी कानुन यथाशीघ्र जारी गरिने प्रतिवद्धता व्यक्त गरे ।
“प्रहरी सम्बन्धी कानुनको नयाँ मस्यौदामा आधारभूत दर्जाका प्रहरीलाई २० वर्षमा निवृत्त हुने व्यवस्था थियो । अब सो अवधिलाई घटाएर १६ वर्षमा झार्ने प्रावधान रहनेछ,” उनले भने, “कार्यालय सहयोगीदेखि हवल्दारसम्मको तहलाई आधारभूत तह मानिएको छ, र अब यस तहका प्रहरी १६ वर्षमै सेवा निवृत्त हुनेछन् ।”
उनका अनुसार आधारभूत तहका प्रहरीले न्यूनतम ८ देखि अधिकतम १४ घण्टासम्म दैनिक ड्युटी गर्ने भएकाले १६ वर्षमै उनीहरूले २३–२४ वर्ष बराबरको सेवा गरिसकेजस्तो देखिन्छ ।
“निजामति कर्मचारी कुर्सी-टेबलमा बसेर जम्मा ५–६ घण्टा मात्रै काम गर्छन्,” उनले उदाहरण दिए, “तर आधारभूत तहका प्रहरी निरन्तर उभिएर काम गर्ने भएकाले छिट्टै थकाइ हुने गर्छ । त्यसैले १६ वर्षमै सेवा निवृत्त हुने व्यवस्था गर्न लागिएको हो ।” गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई देशका सबै जातजाती, लिङ्ग र भूगोलको प्रतिनिधित्व हुने संरचना बनाइने उल्लेख गर्दै महिलाको आरक्षणसमेत थप गरिने बताए ।