काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले विगत केही समय देखि आफ्नो नाम “घुस डिल”मा जोडिएर आएको कुरा सबैलाई विदितै छ भन्दै सामाजिक सञ्जाल फेसबुक पेजमा स्टास्टस लेख्दै मन्त्री गुप्ताले राजीनामा प्रधानमन्त्रीलाई बुझाएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन् , ‘कहिले काहीँ नखाएको विषय पनि लाग्दो रहेछ । म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्मानित प्रधान मन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’
उनले प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोहिपनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्मा विभिन्न रूपले आफूलाई सहयोग गर्नेहरुलाई धन्यवाद समेत दिएका छन्। अब फेरि एक पटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पुरा गर्ने प्रतिबद्धताका साथ जनताको घर दैलोमा आउने प्रण गरेका छन् । यस अघि गुप्तालाई कारबाही गर्न सरकारमाथि दबाव बढेको थियो ।