काठमाडौँ । घुस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई कारबाही गर्न सरकारमाथि दबाव बढेको छ ।घूस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तालाई तत्काल बर्खास्त गरेर कारबाही गर्न सडकदेखि सदनसम्मबाट दबाव बढेको हो । तर सुशासन आयोगको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली यसबारे अझै मौन छन् ।
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई राजीनामा दिन निर्देशन दिएको भनिए पनि यसबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन । प्रधानमन्त्री ओलीले हिजो मन्त्री गुप्तालाई बोलाएर छलफल गरेका थिए । तर गुप्तालाई मन्त्री पदबाट हटाउनेबारे कुनै निर्णय भएन ।
मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न नेकपा एमालेकै सांसद किरणकुमार साहले माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद साहले मन्त्री गुप्तालाई दर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
मन्त्री गुप्ताले घुस मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको छ । अख्तियारले अडियो परीक्षण गर्न विधि विज्ञान प्रयोगशालामा पठाएको छ । मन्त्री गुप्ता, बिचौलिया पुरुष र एक महिलाबीच कुराकानी भएको ९ मिनेटको अडियोमा ‘मालपोत कार्यालय कास्कीका तत्कालीन कार्यालय प्रमुखको सरुवा रोक्न सामान्य प्रशासनमन्त्री गुप्ताले बिचौलियासँग ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ गरी ७८ लाख रुपैयाँ घुस डिल गरेको उल्लेख छ । ६ महिनाअघि भएको यो घुस संवादको अडियो केही दिनअघि मात्रै सार्वजनिक भएको हो ।