काठमाडौं । नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतमा सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेको ‘भेरियन्ट’ देखिएको टिप्पणी गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा उनले केन्द्रीय सदस्य बस्नेतमा हाल पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेको ‘भेरियन्ट’ देखिएको टिप्पणी गरेका हुन् ।
‘केही समयअघि सहकारी ठगी प्रकरणमा हाल पुर्पक्षका क्रममा कैदमा रहेका रवि लामाछानेले संसद्को रोष्ट्रममा उभिएर ‘आफूलाई फसाउन खोज्ने कांग्रेस नेता गगन थापाको पनि फाइल आफूसँग रहेको’ बताएका थिए,’ केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘बुधबारको बैठकमा लामिछानेकै भेरियन्ट बस्नेतज्यूमा देखियो ।’
उनले टेरामक्स प्रकरणमा मुछिएपछि विशेष अदालतले धरौटीमा रिहा गरेका बस्नेतलाई आफूसँग फाइल छ भनेर घुर्की नदेखाउन पनि चेतावनी दिए । उनले महामन्त्री गगनकुमार थापालाई कारबाही भएको देख्ने चाहना भए कानुनी प्रक्रियामा जान पनि सुझाव दिए ।