काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्छ भन्ने धारणा राखे पनि एमाले अध्यक्षलाई प्रधानमन्त्री बनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमबारदेखि सुरु भई जारी पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यदि संविधान संशोधनका लागि सत्ता गठबन्धन बनेको हो भने ७ बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो भन्दै प्रश्न गरे ।
उनले भने, ‘२०७९ सालको संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौं । अहिले एमालेसँग सरकारमा छौं । त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्यौं र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ? कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो रु यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने ७ बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो रु सभापतिज्यूले यसको चित्तबुझ्ने जवाफ दिनुपर्छ ।’
उनले पार्टीमा एकता होस्, गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४औं महाधिवेशनमा पराजित भएलगत्तै आफूले भागबण्डाको राजनीति गर्दिनँ भनेर भनेको स्मरण गरे । तर कांग्रेसले त्यहीँ सहनशीलता र भद्रतालाई कमजोरी ठानेको उनको गुनासो छ ।
‘मैले आज बाध्य भएर भनिरहेको छु । पार्टीमा एकता होस्, गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४औं महाधिवेशनमा पराजित भएलगत्तै म भागबण्डाको राजनीति गर्दिनँ भनेर भनेको थिएँ । सभापति एवं पदाधिकारीहरूले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै पनि मैले फरक मत राखिनँ । मेरो त्यहीँ सहनशीलता र भद्रतालाई कमजोरी ठानियो ।’