काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरुसँग गरेको सम्झौता पार्टी हितमा भएरनभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन्।
माओवादी केन्द्र दोलखा—काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका दुई राजनीतिक दलहरुसँग दुई बुँदे सम्झौता भएपछि संसद् खुलेको बताए। उनले त्यसबारेमा विभिन्न प्रतिक्रियाहरु आइरहेको भन्दै पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको बताए। अध्यक्ष पुष्पकमल दाहाल समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुगेको हुनसक्ने उनको भनाइ थियो। तर उक्त मुद्दालाई माओवादीले नछोड्ने स्पष्ट पारे।
उनले भने, ‘त्यसबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट हुन पाएको छैन। मैले छलफल गरेर निष्कर्षमा नपुगी केही भन्न सक्दिनँ। औपचारिक कुरा थाहा पाइसक्नुभयो। त्यसले हाम्रो पार्टीलाई, सुशासनको अभियानलाई हित हुने गरी भयो कि भएन भनेर समीक्षा हुनसक्छ। त्यसमा अध्यक्ष कमरेडले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्छ। पार्टीमा आधिकारिक रुपमा भन्नसक्ने स्थितिमा छैन। हामीले यो मुद्दा छोड्दैनौँ।’