काठमाडौँ । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दलसँग हिजो भएको दुई बुँदे सहमति पालना नभए फेरि विरोध हुने बताएका छन् ।
आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले सहमतिमा जानुपरेको दाबी गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखक जोडिए पनि यो प्रकरण अहिलेको मात्रै नभएको उनको भनाइ छ । साथै उनले भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो नरहेको उल्लेख गरे ।
गएको जेठ १३ गतेदेखि प्रतिनिधिसभामा हुँदै आएको अवरोध हटाउन हिजो प्रमुख प्रतिपक्ष माओवादी र सत्तारुढ दलबीच दुई बुँदे सहमति भएको थियो । सहमतिपछि हिजोको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले आफ्नो जवाफ राखेका थिए । तर राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले बैठकमा अवरोध गरेका थिए ।