काठमाडौं । प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका प्रतिपक्षी दलहरू भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउन एकमत भएका छन् । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहीबार बसेको बैठकमा भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउन प्रतिपक्षी दलहरू एकमत भएका हुन् ।
प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसामार्फत् मानव तस्करीको संगठित अपराध अन्यका लागि छानबिन समिति बनाउने निष्कर्ष निकालेको जानकारी दिए ।
यसअघि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भिजिट भिसा प्रकरणबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले पनि अध्यक्ष नेपालसँग संसद्मा देखिएको अवरोधबारे छलफल भएको प्रतिक्रिया दिएका थिए ।