काठमाडौँ । प्रतिनिधिसभाका सांसद निलम्बित हुनेको संख्या चार पुगेको छ । आज बिहीबार पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल निलम्बित भएसँगै तत्काललाई प्रतिनिधिसभाका चार सांसद निलम्बनमा परेका हुन् ।
पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद निलम्बनमा परेको हो । यस अघि नेपाली कांग्रेसका सांसद मोहन बस्नेत निलम्बित भएका थिए ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियारले बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेसँगै बस्नेतको पद निलम्बन भएको हो ।
भ्रष्टाचार मुद्दा दर्ता गर्नासाथ सांसद पद निलम्बन हुने कानुनी व्यवस्था छ । बस्नेत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । यस्तैसहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । उच्च अदालत बुटवलको आदेशमा लामिछाने अहिले थुनामा छन् । लामिछाने चितवन ३ बाट निर्वाचित सांसद हुन् ।
भुटानी शरणार्थी प्रकरणमा थुनामा पुगेका एमाले सांसद टोपबहादुर रायमाझीको सांसद पद पनि निलम्बन छ । रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् । सहकारीको बचत अनियमितताको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत एक वर्षदेखि फरार छिन् । बस्नेतविरुद्ध १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार छिन् ।