काठमाडौँ । भिजिट भिसा प्रकरणलाई लिएर चुलिएको राजनीतिक तनावबीच बालुवाटारमा नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबीच भएको छलफलले गृहमन्त्री रमेश लेखकको राजीनामा असम्भव रहेको निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री लेखक तथा एमालेका मुख्य सचेतक महेश बर्तौला सहभागी थिए । छलफलपछि बर्तौलाले गृहमन्त्री लेखकले आजको संसद बैठकमा आफूमाथि उठेका आरोपबारे जवाफ दिने तयारी रहेको जानकारी दिए ।
सरकारले गृहमन्त्री लेखकमार्फत भिजिट भिसा प्रकरणमा संसदबाट आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको हो । त्यसका लागि सभामुख समक्ष समय मागिनेछ।
भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षले गृहमन्त्रीको राजीनामा माग गरिरहेको छ भने बुधबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक तोकिएको समयमा सुरु हुन सकेको छैन ।