काठमाडौँ । भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट हुने गरेको मानव तस्करीका घटना र आर्थिक लेनदेनबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान सुरु गरेको छ । सो प्रकरणमा अख्तियारले विशेष सुराकका आधारमा विमानस्थल अध्यागमनमा छापा मारी प्रमुख तीर्थराज भट्टराईसहित केही कर्मचारीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो ।
अख्तियारले विमानस्थल अध्यागमनबाट बरामद भएका कागजपत्र, विद्युतीय उपकरणको परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । सोही प्रकरणमा जोडिएका अध्यागमन प्रमुख भट्टराईसहितका कर्मचारीमाथि सोधपुछ सुरु भए पनि बयान भने सुरु हुन सकेको छैन ।
नियन्त्रणमा लिइएका आरोपितबाट बरामद गरेका प्रमाणको फरेन्सिक परीक्षण आउन अझै कम्तीमा एक हप्ता लाग्ने भएकाले आरोपितले उच्च पदस्थ अधिकारीलाई पोलेको आरोपमा सत्यता नरहेको अख्तियार स्रोतको दाबी छ ।
यद्यपी यस घटनामा गृह मन्त्रालयको नेतृत्व वा सोभन्दा माथिको संलग्नता नै पुष्टि हुने आधार देखिएमा थप विस्तृत अनुसन्धान गरी जोसुकैलाई कानुनी दायरामा ल्याउने गरी अख्तिारले अनुसन्धानको दायरा थप फराकिलो पारेको छ ।