काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र हिंसा, अपराध कर्म भएकाले कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले हिंसालाई धर्मसँग जोड्न नसकिने भन्दै तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान बिपरित रहेको दावी गरे।
आपराधिक कार्यमा संलग्न जोसुकै भएपनि कडाकारवाही हुने बताए। मन्त्री लेखकले उक्त घटनामा पक्राउ परेकामाथि अनुसन्धान र अभियोजनको काम भइरहेको जानकारी दिए।
मन्त्री लेखकले त्यस्ता खालका अपराधजन्य घटना हुन नदिन सरकार सचेत र सतर्क रहेको उल्लेख गरे । उनले तीनकुनेमा भएको हिंसात्मक घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्नेमा सरकार प्रष्ट रहेको जिकिर गरे। गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेकोप्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने कयौं भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो।