जनकपुरधाम । विगत दुई वर्षदेखि प्रत्येक शनिवार साँझ ६ देखि ७ बजेसम्म जनकपुरधामको स्टेशन नजिकै रहेको ऐतिहासिक हनुमान मन्दिरमा नियमित रूपमा आयोजना हुँदै आएको प्रसाद वितरण कार्यक्रम शनिवार विशेष रूपमा सम्पन्न भएको छ।
वार्ड नम्बर १ का निवर्तमान वडाध्यक्ष सत्रुधन साहको अगुवाइमा सञ्चालन हुँदै आएको यो सेवा कार्यक्रम राजीव ठाकुर, निरञ्जन यादव, राजकुमार ठाकुर, राम भगत यादव, लक्ष्मण यादव लगायतको सक्रिय टोलीको समर्पणबाट एकल लगानीमा निरन्तर सञ्चालन हुँदै आएको हो। कोभिड महामारीको समयमा पनि सोही स्थानमा महिनौँसम्म सत्रुधन साहको नेतृत्वमा निःशुल्क खाना वितरण शिविर सञ्चालन गरिएको थियो।
सो विशेष कार्यक्रममा क्लोथ बैङ्क नेपालका अध्यक्ष तथा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय नेता राजीव झालाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। उनी विगत ७ वर्ष देखि जनकपुरधाममै निःशुल्क नयाँ कपडा वितरण अभियान सञ्चालन गर्दै आइरहनु भएको छ। त्यस्तै, बाल अभियानी आदित्य झा पनि अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमको शुभारम्भ मन्त्रोच्चारण र दीप प्रज्वलनबाट गरिएको थियो। समापनमा अतिथिहरूले सामाजिक सेवाको महत्वलाई प्रकाश पार्दै यस्ता कार्यहरू समुदायको गौरवको रूपमा स्वीकार गरिनुपर्ने धारणा राखेका थिए।
दर्जनौँ स्थानीय भक्तजनको सहभागिता रहेको कार्यक्रममा संयोजक सत्रुधन साहले सेवा कार्यलाई अझ व्यापक बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए। साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।