काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने सङ्कटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका आहाल, पोखरी, तालतलैयाहरूको संरक्षण गर्न जरुरी रहेको बताएका छन् ।
विश्व पानी दिवसका सन्दर्भमा शुभकामना सन्देश दिँदै उनले सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत भूमिगत पानी स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिन जरुरी रहेको बताएका हुन् ।
उनले भने, “यत्रतत्र पोखरीहरू निर्माण गरी आकाशेपानी सङ्कलनसमेत गरी पानीका स्रोतहरूको संरक्षण गर्न अतिआवश्यक भइसकेको छ ।”
उनले बढ्दो सहरीकरण तथा भौतिक पूर्वाधार निर्माणका क्रममा भएको वनजङ्गल तथा प्रकृति विनाशका कारण पानीका स्रोतहरू नष्ट भइरहेको बताए । राष्ट्रपति पौडेलले सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण जमिनमुनिको पानीको सतह निरन्तर घट्नेक्रम जारी रहेको उल्लेख गरे ।
उनले भने, “अव्यवस्थित बस्ती र बढ्दो औधोगिकीकरणका कारणले जमिनमुनिको पानीसमेत प्रदूषित हुँदै गएको छ । जसका कारणले प्राणी जगत्का लागि प्रकृतिले दिएको वरदान पानीका स्रोतको संरक्षण गर्नु आजको दिनमा मानव सभ्यताका लागि चुनौती बनेको छ ।”