काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन फागुन १० भित्रै टुट्ने दाबी गरेका छन्।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–१ ले सोमबार रुपन्देहीको कोटिहवामा गरेको कार्यकर्ता भेलामा महामन्त्री थापाले सत्ता गठबन्धन फागुन १० भित्रै टुट्ने दाबी गरेका हुन्।
उनले भने, ‘पुस १० मा बनेको गठबन्धनबारे फागुन १० मा नयाँ समाचार सुन्न पाउनुहुनेछ। पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा परिवर्तन गरेरै छाड्छौं। नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउँछौं। ’
राष्ट्रपतिमा पनि कांग्रेसले नै प्रस्ताव गरेको उम्मेदवार निर्वाचित हुने उनको दाबी छ।
महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने बताए। उनले सत्ता र शक्तिको दुरुपयोग हुन नदिनका लागि एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुनैपर्ने जिकिर गरे।