काठमाडौं । चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ ।
शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो ।शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सक सिंहलाई कुटपिट गरेको थियो ।
‘लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।