काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताएका छन् ।
नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले निजी क्षेत्र नै आर्थिक समृद्धिको आधार रहेकाले सरकारले सबैलाई साथ लिएर अघि बढ्ने बताए ।
अहिले देशको आर्थिक अवस्था त्यति सन्तोषजनक नभएको बताउँदै सरकार, निजी क्षेत्र र आम नागरिकबीचको सहकार्यबाटै अहिलेको अवस्थाबाट पार पाउन सकिने पनि उल्लेख गरे । तर, अर्थमन्त्रीले आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको स्पष्ट पारे ।
विगतको अनुभवका आधारहरु र अहिलेको परिस्थितिबारे सूक्ष्म अध्ययन गरेर त्यसै अनुसारका कामहरुलाई अघि बढाएको पनि अर्थमन्त्री पौडेलले उल्लेख गरे । मन्त्री पौडेलले अहिलेको सरकारको मुख्य उद्देश्य आर्थिक क्षेत्रका समस्या समाधान गर्ने रहेको पनि बताए ।