काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ।
सोमबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन फागुन १० गते, दाबी, विरोध, उजुरीलगायतका काम १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका रहेको छ। यसैगरी, अन्तिम मतदाता नामावली फागुन १२ गते प्रकाशन गर्ने र १३ गते उम्मेदवार मनोनयन दर्ता कार्यतालिका रहेको आयोगले जनाएको छ।
उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने भएको छ। त्यसका लागि फागुन २७ गते उम्मेदवारी दर्ता हुनेछ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदैछ।