काठमाडौं। ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्याक्सीमा सवार सुनसरी घर भई ललितपुर महानगरपालिका ताल्छिखेल बस्ने ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार चितवन घर भई टोखा नगरपालिका–७ ग्रीनल्यान्ड बस्ने प्रकाश आचार्यको मृत्यु भएको हो।
दुर्घटनामा घाइते उनीहरूको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।
गएराति साढे १२ बजे बिएन्डबी अस्पताल अगाडिको ओरालोमा बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा ६ जना घाइते भएका छन्। अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये कार चालक कलंकी बस्ने झापा, बिर्तामोडका ३५ वर्षीय बीरबहादुर विकको अवस्था सिकिस्त रहेको छ। कार चालक विकले मदिरा पिएको खुल्न आएको छ।
घटनाबारे अनुसन्धान भइरहेको छ।