काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले भेट गरेकी छन्।
सोमबार बिहान बालुवाटारमा उपमन्त्री नुल्याण्डले प्रधानमन्त्री प्रचण्ड भेट गरेकी हुन्।
‘द्वीपक्षीय सहकार्यका विविध विषय र पारस्परिक हितका अन्य विषयमा पनि छलफल भएको छ,’ प्रधानमन्त्री कार्यालयले ट्विटरमा लेखेको छ।
भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल, अमेरिकी राजदूत डिन थम्प्सनलगायत दुई देशका अन्य अधिकारीहरू पनि सहभागी थिए।

आइतबार साँझ काठमाडौं पुगेकी नुल्यान्डले दुई दिने नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री विमला राईसहित अन्य नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।
नेपाल भ्रमणको क्रममा उनले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी दुई देशबिचको बलियो दौत्य सम्बन्धमाथि जोड दिने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने उनी सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्। नेपालपछि उनले भारत र श्रीलंकाको भ्रमण पनि गर्ने कार्यक्रम छ।
नुल्यान्ड ३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छन्। उनले राष्ट्रपति बाइडेन, ओबामा र बुश नेतृत्वका सरकार अन्तर्गत उच्च पदहरू सम्हालेकी छन्।