बाँके । बाँकेमा बाबुले आगो लगाइदिंदा २ वर्षे छोराको मृत्यु भएको छ । जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले आइतबार अपराह्न पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए ।
जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
श्रीमती गंगाको पनि घाँटी, हात, कान लगायतका भाग जलेको छ । प्रहरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ । उनको उपचार भइरहेको छ ।
आगो लगाउने भानुभक्तलाई भारतको नानपारा आसपासबाट नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी घर्तीमगरले जानकारी दिए ।