धनगढी । संविधानको धारा १६८ को उपधारा (२)बमोजिम मुख्यमन्त्री नियुक्त भएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने तिथिको अझै टुङ्गो लाग्न सकेको छैन । सत्ता साझेदार दलबाट विश्वासको मत नदिने कुरा आएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने तिथिमिति अझै अनिश्चित रहेको छ ।
यद्यपि, उनले विश्वासको मत लिने समय भने घर्किदै गएको छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्रीले नियुक्त भएको एक महिनाभित्रै विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ ।
सरकार गठनमा सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसक्ने कुरा राखेपछि रावलले विश्वासको मत लिने मितिको टुङ्गो लाग्न सकेको छैन । प्रदेश सभामा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्नो केही माग राखेको छ । ती मागहरु पूरा नभएसम्म सरकारलाई विश्वासको मत दिन नसक्ने सो पार्टीको जिकिर छ ।
नागरिक उन्मुक्ति पार्टीको फरक धारणापछि मुख्यमन्त्री रावलको ध्यान विश्वासको मत पाउने वातावरण बनाउनमा केन्द्रित छ । यसै सिलसिलामा उनले केही दिन अगाडि काठमाण्डौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहित विभिन्न दलका शीर्ष नेताहरुसंग छलफलसमेत गरिसकेका छन् ।
यद्यपि, अझैसम्म विश्वासको मत लिने मितिको टुङ्गो लागिसकेको छैन ।संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान छ । रावल पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले माघ २६ भित्रै विश्वासको मत लिनु पर्नेछ ।