कामठाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शहीद दिवसले शहीदहरुले जनता र देशका लागि गरेको सर्वोच्च त्यागको स्मरण गराउने बताएकी छन् । शहीद दिवसको अवसरमा सन्देश जारी गर्दै उनले सो कुरा बताएकी हुन् ।
“सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु” सन्देशमा उल्लेख छ ।
देश र जनताका लागि आफ्नो प्राण आहुति दिने शहीदहरूको विशेष सम्झना गरिने दिन आज भएको उनले बताएकी छन् । “नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरूद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसको रूपमा मनाउँदैआएका छौं” सन्देशमा भनिएको छ ।
हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको उनले चर्चा गरेकि छन् । “शहीदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने मैले ठानेको छु” राष्ट्रपति भण्डारीले सन्देशमा चर्चा गरेकि छन् ।