काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध विरोध प्रदर्शन भएको छ।
आइतबार दिउँसो काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले महानगरपालिकाका मेयर साहले डोजर आतंक चलाएको, सडक विस्तारका नाममा उठिबास लगाएको आरोप लगाएका हुन्।
प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका छन्।
प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका छन्। सायमी बालेनको विजयी र्यालीमा पनि सहभागी भएका थिए।
सायमीले सडक विस्तारका नाममा बिना अध्ययन, अनुसन्धान डोजर चलाएर सहरी सुव्यवस्थामा खलल पार्ने काम महानगरबाट भएकाले मेयर बालेनविरुद्ध प्रदर्शन गर्नुपरेको बताए। उनले बालेन अझैं नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी दिए।
मेयर साहले महानगरपालिकाको नेतृत्व लिएपछि नक्सा पासबिना अनधिकृत ढंगले बनाइएका संरचना हटाउने अभियान सञ्चालन गर्दै आएका छन्।