मदनमणी तिमिल्सीना
पोखरा ,४ माघ । पोखरामा माघ १ गते भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु हुनेहरूको सम्झनामा स्तम्भ र पार्क निमार्ण गरिने भएको छ ।
बिहीबार घटनास्थलमा आयोजित श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले दुर्घटनाले आफू र वडा स्तब्ध भएको बताउँदै मृत्युहरूको सम्झनामा पार्क र स्तम्भ निमार्ण गर्ने बताएका हुन् ।
नेपालको आन्तरिक तर्फको जहाज दुर्घटना मध्यको यति एयरलाइन्सको एन एए नाइन जहाज सबैभन्दा ठुलो र मानवीय क्षतिका हिसाब पनि धेरै भएका कारण पछि दीर्घकालसम्म स्मरण हुने खालको भौतिक संरचना निमार्ण गरिन लागेको हो ।
मितेरी टोल र नागबेली टोलका स्थानीयले दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा गरेका थिए । दुर्घटनाका कारण स्थानीयहरूलाई र प्रत्यक्ष दर्शीहरूलाई पर्न गएको मानसिक समस्या र तनावको शुक्रवार मनो चिकित्सकहरूद्वारा उपचार गराउन व्यवस्था गरेको वडा सदस्य पौडेलले बताए ।
उक्त उपचार कार्यक्रम शुक्रवार बिहान ११ बजे देखि दिउसो १ बजे सम्म चल्ने छ । यस्तै पत्रकार द्वय त्रिभुवन पौडेल र अनिल शाहि तथा सम्पूर्ण मृत्युहरूको सम्झनामा नेपाल पत्रकार महासङ्घले वडा र स्थानीयहरूसँग सहकार्य गरेर स्तम्भ वा शिला लेख लेख्ने नेपाल पत्रकार महासङ्घ कास्की शाखाले जनाएको छ ।