काठमाडौं। प्रधानमन्त्री प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय आफैंसँग राखेका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले जसपा सरकारमा सहभागी भएको छैन। जसपा सरकारमा सहभागी हुने विश्वासका साथ प्रधानमन्त्री प्रचण्डल मन्त्रिपरिषद् विस्तार गर्दा वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय आफैंसँग राखेका हुन्।
सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागबन्डाबारे जसपाले असन्तुष्टि जनाएको छ।
जसका कारण प्रधानमन्त्री दुईपटक मन्त्रिपरिषद विस्तार गर्दा पनि मन्त्रिपरिषदले भने अझै पूर्णता पाउन सकेको छैन।
गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ मा ३ उपप्रधानमन्त्रीसहित ८ मन्त्री बनाए पनि सबैलाई मन्त्रालयको जिम्मेवारी तोकेका थिएनन्, १७ मन्त्रालय आफैंले हेर्दै आएका थिए।
मंगलबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा २ मन्त्रालय भने खाली नै छ।
खानेपानी मन्त्री खानले किन गरेनन् पदभार ग्रहण ?
आज मंगलबार नियुक्त भएका नयाँ मन्त्रीहरूले शपथ लिएर पदभार ग्रहण गरिसकेका छन्।
तर, सिके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले भने पदभार ग्रहण गरेनन्।
राष्ट्रपति कार्यालयमा शपथ ग्रहणका लागि पुगेका खान पदभार ग्रहणका लागि सिंहदरबारमा भने गएनन्।
स्रोतका अनुसार उनलाई आफूले पाएको मन्त्रालयमा चित्त बुझेको छैन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जान चाहेका उनलाई अन्तिममा खानेपानी मन्त्रालयको जिम्मेवारी तोकियो। सोही विषयमा असन्तुष्टि जनाउँदै खानले आज पदभार ग्रहण नगरेका हुन्।
एमालेका दामोदर भण्डारीले उद्योग मन्त्रीको पदभार ग्रहण गरिसकेका छन्।
प्रधानमन्त्री प्रचण्डले शपथ लिएकै दिन मन्त्री बनेका उनको जिम्मेवारी तोकिएको थिएन।
अब नयाँ मन्त्रालयका लागि बार्गेनिङ गर्ने कि खानेपानीमै चित्त बुझाउने भन्नेबारे निले पार्टीका छलफल अगाडि बढाएका छन्। पार्टीको निर्णयको आधारमा अगाडि बढ्ने उनको तयारी छ।