काठमाडौं । प्रधानमन्त्रीमा दावी नगर्न नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले आलोपालो प्रधानमन्त्री हुने र दोस्रो कार्यकाल प्रचण्डलाई छोड्नेगरी सर्त अघि सारेका छन् ।
तर, प्रचण्डले भने ‘पहिलो कार्यकाल आफैं प्रधानमन्त्री हुनुपर्ने’ पुरानै अडान दोहो¥याएपछि कुरा मिल्न नसकेको स्रोत बताउँछ । पछिल्ला केही दिनदेखि देउवा र प्रचण्डबीच प्रधानमन्त्री विषयमा लगातार छलफल जारी रहे पनि ‘पहिलो कार्यकाल को प्रधानमन्त्री हुने ?’ भन्नेमा विवाद हुँदै आएको छ । सोही कारण ‘प्रधानमन्त्री’ विषय पेचिलो बन्दै गएको छ ।
कांग्रेसभित्र संस्थापन र संस्थापनइतर दुवै समूहले सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने सामान धारणा राखिरहेका छन् । कांग्रेस महामन्त्री गगन थापाले ‘आलोपालो प्रधानमन्त्रीको कुनै पनि गोप्य सहमति कांग्रेसका लागि मान्य नहुने र कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने’ बताउँदै आएका छन् ।
बुधबार संसदीय दलको नेतामा पराजित भएपछि कांग्रेस महामन्त्री थापाले ‘अँध्यारो कोठामा हुने आलोपालो निर्णय नमान्ने’ चेतावनी दिएका थिए ।सरकार गठन र नेतृत्वबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच शनिबार पनि छलफल हुने भएको छ।शुक्रबार बसेको बैठक निष्कर्षविहीन भएपछि आज पुन: बैठक बस्न लागेको हो।
संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय भोलि आइतबार साँझ ५ बजे सकिँदै छ ।
त्यतिबेलासम्म प्रधानमन्त्री दावी पेस गरिसक्नुपर्नेछ । त्यस्तो दावी कसैले पेस गर्न नसकेमा राष्ट्रपतिबाट ७६ (३) अनुसारको सरकार गठन गर्न आह्वान हुनेछ । ७६ (३) अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेता प्रधानमन्त्री चुनिन सक्ने व्यवस्था छ । त्यो प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्नेछ । सोअनुसार सरकार गठनका लागि आह्वान भए कांग्रेसका लागि सहज हुने बताइन्छ ।