काठमाडौँ । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका नेपाल प्रहरीका एसपी रामेश्वरप्रसाद यादवलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको छ।
साथै प्रहरी जवान ढकबहादुर गुरुङलाई पनि सजायको फैसला सुनाइएको सर्वोच्च अदालतले जनाएको छ।
सर्वोच्च स्रोतका अनुसार संयुक्त इजलासले यादव र गुरुङ दुवै जनालाई सर्वोच्च अदालतले ४-४ महिना कैद र बिगोबमोजिमको जरिवाना बुझाउन आदेश दिएको हो।
विशेषले सफाई दिएपछि उनी नियमित ड्युटिमा फर्किएका थिए भने उनको बढुवा पनि भएको थियो । तर सफाइ दिने विशेषको आदेशविरुद्ध सरकार पक्ष पुनरावेदनमा गएको थियो। ७ भदौ २०७२ मा पुनरावेदन दर्ता भएकोमा ७ वर्षपछि यो मुद्दा टुंगिएको हो।
सर्वोच्चले यसलाई अभियान फाँटमा राखी पेसी तोक्दै आएकोमा मंगलबार ईश्वर प्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेषको फैसला उल्टउँदै यादव र गुरुङलाई दोषी ठहर गरेको हो।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को ३(१)(ग) अनुसार ४/४ महिना सजाय तथा ९७ हजार ५० रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको हो। उक्त दफामा ५० हजार रुपैयाँभन्दा बढी र एक लाख रुपैयाँसम्म भ्रष्टाचार गरेमा चार देखि ६ महिनासम्म कैद सजाय गरिने उल्लेख छ।