धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले संस्कृति, चाडपर्व हाम्रो पहिचान रहेको बताएका छन् । बाजुरेली सेवा समाजले धनगढीस्थित खुलामञ्चमा आयोजना गरेको भुवा पर्वको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
संस्कृति, चाडपर्व र रीतिरिवाज पहिचान भएकाले संरक्षण गर्दै अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो ।‘यदि हाम्रो पहिचान छैन भने हाम्रो धर्म र हामी मानव हुनुको औचित्व छैन’, उनले भने,‘त्यसकारण यसको जगेर्ना गरेर अगाडि बढ्न आवश्यक छ ।’ हिन्दू धर्मावलम्बीहरुले संस्कृतिमाथि अगाढ विश्वास गर्दै आएको प्रदेश प्रमुखको भनाइ थियो ।
उनले चाडपर्वमा रहेका विकृतिलाई हटाएर भएका असल पक्षलाई पालना गर्दै अगाडि बढ्नु सबैको दायित्व रहेको उल्लेख गरे ।बाजुरेली सेवा समाजले भुवा पर्वको आयोजना गरेर सबैलाई भेटघाट गर्ने अवसर जुटाउनुका साथै पर्वको संरक्षण गरेर भुवा पर्वको ज्ञान युवा पुस्तालाई दिने कार्य गरिरहेको उनले बताए । ‘भुवा पर्व आयोजना गर्नुको जुन उद्देश्य छ यो अत्यन्त सह«ानीय र प्रशंसनीय छ’, उनले भने,‘यसलाई आगामी दिनमा पनि निरन्तरता दिइ रहनु पर्दछ ।’
चाडपर्वको ठूलो महत्व रहेको उल्लेख गर्दैै प्रदेश प्रमुख जोशीले यसले एक आपसमा सौहार्दता र हार्दिकता बढाइ दिने गरेको बताए । ‘त्यसैले हामी चाडपर्व मनाउने गर्दछौं’, उनले भने ।द्वापर युगमा कौरव–पाण्डवले युद्धमा तरवार र ढाल प्रयोग गरेको उल्लेख गर्नुहुँदै प्रदेश प्रमुखले पछि नेपालमा बाइसे–चौबिसे राज्यका राजा रजौटाहरुले सैनिकलाई प्रशिक्षण दिनका लागि ढाल र तरवार प्रयोग गरेको बताए । त्यसैले ढाल र तरवार हाम्रो समाजको सुरक्षा व्यवस्थाको निम्ति आवश्यक रहेको उनको भनाइ थियो । ‘त्यसैगरी, चाडपर्व, संस्कृति संरक्षणका लागि पनि आवश्यक छ’, जोशीले भने ।
कार्यक्रममा प्रदेश प्रमुख जोशीले भुवा पर्वको अवसरमा प्रदेश सरकारले सकेसम्म प्रदेशभरि नै बिदा दिइनु पर्ने बताए । पहिले प्रदेशभरि बिदा दिइएकोमा अहिले पहाडका चार जिल्लामामात्रै प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय चित्त बुझ्दो नरहेको उनको भनाइ थियो । ‘नयाँ सरकार गठन भएपछि बिदाका लागि यहाँहरु पनि घचघच्याउनुस, मेरो तर्फबाट म पनि लाग्छु’, उनले भने ।
यसैगरी, पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले पनि भुवा पर्वको अवसरमा सरकारले प्रदेशभरी नै बिदा दिनु पर्नेमा जोड दिए । खुलामञ्चमा तीन दिनसम्म विभिन्न नृत्य देखाएर भुवा पर्व मनाइने समाजले जानकारी दिएको छ । हात हातमा तलवार र ढाल नचाउँदै भुवा पर्वमा नृत्य गर्ने चलन रहेको छ । पहाडी जिल्ला बाजुरामा धुमधामकासाथ मनाइने यो पर्वलाई कैलाली, कञ्चनपुरमा बसाइँ सरेर आएका बाजुरेलीहरु यहाँ मनाउँदै आएका छन् ।
भुवा आत्मसुरक्षा, सीमा सुरक्षा र विजय प्राप्तिका लागि खेलिने खेल रहेको बाजुरेली सेवा समाजका पूर्व अध्यक्ष कुलबहादुर हमालले बताए । यो पर्वले भाइचाराको सम्बन्ध बढाउनुका साथै संस्कृतिको जगेर्ना गर्ने गरेको उनको भनाइ छ ।
‘हामीबीच जस्तोसुकै रिसराग भए पनि भुवा पर्वको अबिर लगाइसकेपछि मनको रिस सबै शान्त हुन्छ’, उनले भने,‘त्यहि भएर अरुले होलीमा अबिर लगाए जस्तै हामी भुवा पर्वमा अविर लगाएर नृत्य देखाउने गरेका छौं ।’ द्वापर युगमा कौरव र पाण्डवबीचको लडाईमा पाण्डव विजयी भएको स्मरण गर्दै भुवो खेल्ने गरिएको हमालले बताए ।