काठमाडौं। अध्यागमन विभागले फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगेको छ।
सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भएका शोभराजलाई स्वदेश फिर्ता गराउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको जानकारी अध्यागमन विभागले दिएको छ।
विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले शोभराजलाई कतार एअरवेजको जहाजबाट फ्रान्स पठाउन लागिएको जानकारी दिए।
अध्यागमन विभागले उनलाई नेपालमा १० वर्षसम्म आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ।
शोभराजलाई आजै (शुक्रबार) सुन्धारास्थित केन्द्रीय कारागारबाट रिहा गरी अध्यागमन विभागमा बुझाएको थियो। सर्वोच्च अदालतले बुधबार १५ दिनभित्र डिपोर्ट (नेपाल छाड्ने) आदेश दिएको थियो।
शोभराजलाई आज साँझको उडानबाट फ्रान्स पठाइने जानकारी सूचना अधिकारी पाण्डेले दिए।
सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या र फर्जी राहदानी प्रयोग गरेको अभियोगमा शोभराजलाई सर्वस्वसहित जन्मकैद हुनेगरी छुट्टाछुट्टै मुद्दा चलाइएको थियो।
शोभराजलाई बिकिनी किलर, सिरिअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिन्छ।