काठमाडौं। 'बिकिनी किलर', 'सिरीअल किलर' र 'द सर्पेन्ट' जस्ता उपनामले विश्वभरि चिनिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलबाट छुटेका छन्।
दुई विदेशी पर्यटकको हत्या अभियोगमा अदालतबाट दोषी ठहर भई केन्द्रीय कारागारमा रहेका उनी १९ वर्ष ३ महिना ७ दिनपछि जेलबाट छुटेका हुन्।
घर फर्काउन उनलाई जेलबाट अध्यागमन विभाग पुर्याइएको छ। अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ।
केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले शोभराजलाई अध्यागमन विभाग पठाएको र उनलाई आफ्नो देश फिर्ता पठाउने प्रक्रिया अध्यागमनले नै अघि बढाउने बताए।
अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले शोभराजलाई स्वदेश फर्काउनुअघि नियन्त्रणमै राख्ने वा निगरानीमा मात्रै राख्नेबारे टुङ्गो लाग्न बाँकी रहेको बताए।
उनलाई बुधबारसर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो। कारागार नियमावली, २०२० को नियम २९ (२ क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था अनुसार उनलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो।
१९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक शोभराजलाई (बुधबार) छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो।
शोभराज सन् २००३ मा काठमाडौंमा पक्राउ परेका थिए। दुई विदेशी पर्यटकको सन् १९७५ मा हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो।
सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो।
शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ। ती घटनाहरू सन् १९७२ देखि १९८२ सम्म भएका थिए।
हत्या गरिएका अधिकांश मृतकलाई अचेत बनाउन औषधि दिइएको, घाँटी निमोठिएको, पिटिएको वा आगो लगाइएको बताइन्छ।
बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज फ्रान्सेली नागरिक हुन्। उनका पिता भारतीय मूलका हुन् भने आमा भियतनामी मूलकी हुन्। अठहत्तर वर्षीय शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा बिताएका छन्।