काठमाडौं। प्रतिनिधि सभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
माओवादी केन्द्रका सांसद महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनीयताको शपथ लिएका हुन्।
उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद सचिवालय सिंहदरबारमा शपथ गराए।
उनीहरू बिहीबार शपथ लिन छुटेका थिए। यादव नागरिकताका अनुसार जेष्ठ सदस्य भएको तर, जेष्ठ सदस्यका रुपमा सपथ ग्रहण नचाहेका कारण बिहीवार शपथ ग्रहण समारोहमा उपस्थित भएनन् भने राई जिल्लामा नै रहेको र बिहीवार हवाई उडानमार्फत काठमाडौं आउने तयारीमा भए पनि मौसम खराबीका कारण समयमा उडान हुन नसकेपछि अनुपस्थित भएका थिए।
बिहीवार प्रतिनिधिसभाका नवनिर्वाचित सांसदमध्ये चार जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएका थिए।
अझैं प्रेमबहादुर आले र माया राईले शपथ लिन बाँकी छ। आलेकी आमाको निधन भएका कारण र राई सुत्केरी भएका कारण शपथमा उपस्थित भएनन्।
उनीहरुले आफ्नो अनुकूलतामा शपथ लिने सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।