काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरीमा देखिएको विवाद समाधानको जिम्मा नगर प्रहरीलाई नै दिएका छन् ।
लामो समयदेखि एउटै संगठनमा काम गर्दै आएका तल्लो र उपल्लो दर्जाका प्रहरीबीच विवाद देखिएपछि मेयर शाहले त्यसलाई हस्तक्षेप नगरी नगर प्रहरीलाई नै विवाद समाधानको जिम्मा दिएका हुन् ।
नगर प्रहरी महानगरकै अंग भए पनि त्यसलाई विवादयुक्त बनाउनुनहुने भन्दै मेयर शाहले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई विवाद समाधान गर्न बिहीबार निर्देशन दिएका हुन् । माथिल्लो दर्जाका नगर प्रहरी र प्रशासकीय अधिकृतसँग असन्तुष्टि जनाउँदै गत सोमबार नगर प्रहरीका सइ लोकनाथ चुडालले राजीनामा दिएका थिए । उनको राजीनामा मंगलबार नै स्वीकृति भएको छ ।
महानगर प्रहरीमा ३० वर्ष नगर प्रहरीका रूपमा काम गरेका चुडालले तल्लो तहमा कार्यरत नगर प्रहरीलाई माथिल्लो दर्जाका प्रहरीले उचित व्यवहार नगरेको र गुनासो सुनुवाइ नगरेको आरोप लगाएका छन् । उनले नगर प्रहरी कार्यालयमा निवेदन दिँदै माथिल्लो दर्जाका प्रहरीमाथि छानबिन हुनुपर्ने माग राखेका छन् ।